अहमदाबाद विमान दुर्घटना : प्रधानमन्त्री मोदी घटनास्थलमा, एक जना मात्र जीवित – Sagarmathapana:: Online News Portal

अहमदाबाद विमान दुर्घटना : प्रधानमन्त्री मोदी घटनास्थलमा, एक जना मात्र जीवित

   २०८२ जेष्ठ ३१ गते  

अहमदाबाद—बिहीबार दिउँसो एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर (उडान संख्या एआई १७१) लण्डनका लागि उडान भरेको केही मिनेटमै दुर्घटनामा परेपछि प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान घटनास्थल पुगेका छन्। उनले घटनास्थलको निरीक्षण गर्नुका साथै सिभिल अस्पतालमा उपचाररत घाइतेको अवस्था बुझेका छन्।

प्रधानमन्त्री मोदीले सिभिल अस्पताल पुगेर उक्त दुर्घटनाबाट जीवित बच्न सफल एक मात्र यात्री विश्वकुमार रमेशसँग भेट गरेका थिए। प्रधानमन्त्रीले रमेशको हात समातेर ढाढस दिएका थिए। प्रधानमन्त्रीको हौसलाले रमेशको अनुहारमा केही राहत झल्किएको थियो।

“मेरो आँखा अगाडि सबै भयो,” रमेशले भने, “तर म कसरी बाँचेँ, मलाई नै थाहा छैन। एयर होस्टेस र अरु यात्रुहरू मेरो आँखै अगाडि मरे।” रमेशका अनुसार, विमान उडेको ५–१० सेकेन्ड भित्र नै दुर्घटना भएको थियो। उनी आफ्नो भाइसँग लण्डन जाँदै थिए।

अहमदाबादको बीजे मेडिकल कलेज क्याम्पस नजिकै रहेको होस्टेल भवनमा विमान ठोक्किएको थियो। दुर्घटनापछि सो भवनमा भीषण आगलागी भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार, आगोले पुरै भवनलाई घेरेको थियो।

विमानमा दुई पाइलट, १० चालक दलका सदस्यसहित २४२ जना सवार थिए। एयर इन्डियाका अनुसार, तीमध्ये १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानडाली नागरिक थिए। हालसम्म मृत्यु हुनेको आधिकारिक संख्या सार्वजनिक गरिएको छैन, तर अधिकांश यात्रुको ज्यान गएको आशंका गरिएको छ।

प्रधानमन्त्री मोदीले घटनास्थलको निरीक्षणपछि तुरुन्तै अस्पताल पुगेर स्वास्थ्यकर्मीहरूबाट उपचारको विवरण बुझेका थिए। उनले घटनाको गम्भीर समीक्षा बैठक आयोजना गर्ने तयारीसमेत गरेका छन्।

घटनाको छानबिनका लागि विशेष समिति गठन गरिएको छ। प्रारम्भिक अनुमान अनुसार, विमानले उडान भरेको केही समयमै प्राविधिक समस्या आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै