रौतहटमा पत्रकारमाथिको दुर्व्यवहार: कटहरिया नगर प्रमुख जैसवालविरुद्ध कारबाहीको माग – Sagarmathapana:: Online News Portal

रौतहटमा पत्रकारमाथिको दुर्व्यवहार: कटहरिया नगर प्रमुख जैसवालविरुद्ध कारबाहीको माग

   २०८२ जेष्ठ ३० गते  

रौतहट—कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालद्वारा दुई पत्रकारमाथि दुर्व्यवहार र कुटपिट गरिएको आरोप लागेपछि नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपाल रौतहट शाखाले कडा आपत्ति जनाउँदै दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठ र प्रेस चौतारी रौतहटका अध्यक्ष अशोक कुमार पाहाडीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मेयर जैसवालको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूले कटहरिया म्यूजिकल एफएमका समाचारवाचक रबिन्द्र प्रजापति र सागर ठाकुरमाथि गरिएका दुव्र्यवहार, गालीगलौज र आक्रमणलाई प्रेस स्वतन्त्रता माथिको हमला भनेका छन्।

घटनाको पृष्ठभूमि

कटहरिया–५ मा रहेको खानेपानी आयोजना केही दिनदेखि अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका छन्। यही विषयलाई लिएर समाचारवाचक रविन्द्र प्रजापतिले फेसबुकमार्फत स्टाटस लेखेका थिए। सो स्टाटसमा अर्का पत्रकार सागर ठाकुरले पनि तीव्र प्रतिक्रिया दिएका थिए।

घटनापछि कटहरिया म्यूजिकल एफएमका प्रमुख तथा मेयरका प्रेस सल्लाहकार प्रकाश श्रेष्ठको घरमा छलफल गर्न प्रजापति र ठाकुरलाई बोलाइएको थियो। तर, छलफलका क्रममा मेयर जैसवाल आफ्ना समर्थकसहित आइपुगेपछि विवाद बढ्दै गयो। सोही क्रममा पत्रकार ठाकुरमाथि हातपात भएको सल्लाहकार श्रेष्ठले जानकारी दिएका छन्। ठाकुर हाल उपचारका लागि वीरगञ्जस्थित अस्पतालमा भर्ना छन्।

यसअघि, मेयर जैसवालले प्रजापतिलाई फोनमार्फत गालीगलौज गरेका थिए, जसको अडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ।

प्रेस चौतारी र महासंघ दुवैले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानून अनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। यस्ता घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर चुनौती दिने उनीहरूको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै