संसद अवरुद्ध :तीन दलबीच सहमति त आयो, समाधान भने अझै टाढा – Sagarmathapana:: Online News Portal

संसद अवरुद्ध :तीन दलबीच सहमति त आयो, समाधान भने अझै टाढा

   २०८२ जेष्ठ ३० गते  

काठमाडौं—लामो समयदेखि अवरुद्ध संसद सुचारु गर्न सत्ता गठबन्धन एमाले, कांग्रेस र माओवादी केन्द्रबीच दुई बुँदे सहमति भए पनि गतिरोध अझै अन्त्य हुन सकेको छैन। भिजिट भिसा काण्डमा अख्तियारको अनुसन्धानलाई सघाउने र अध्यागमन प्रणालीको बेथिति छानबिन गर्न समिति गठन गर्ने सहमति भएपछि सत्तापक्षले संसद चलाउने तयारी गरेको छ।

तर, गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमतिमा सामेल नभएपछि संसद् अझै ठप्पै छ। रास्वपाको अडान छ: “राजीनामा नभएसम्म संसद् चल्दैन।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्छन्, “गृहमन्त्रीको राजीनामा मुख्य विषय होइन, अध्यागमनमा भएका बेथिति र भिसा अनियमिततामाथि गहिरो छानबिन आवश्यक छ।”

सभामुख देवराज घिमिरेको पहलमा प्रमुख दलहरूबीच बिहीबार छलफल भएको थियो। कांग्रेस, एमाले र माओवादी केन्द्र सहमतिमा पुगेका छन् कि शुक्रबारबाट संसद् चल्नेछ। तर, रास्वपाको असहमति त्यो सम्भावनामा प्रश्नचिन्ह बनेको छ।

यसबीच, संघीय निजामती सेवा, नागरिकता, र विद्यालय शिक्षा जस्ता महत्वपूर्ण विधेयकहरू संसद् अवरुद्ध हुँदा अधरमा परेका छन्।

भिजिट भिसा काण्ड: अनुसन्धानमै अल्झिएको राजनीति

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भएको अनियमितता बाहिर आएपछि अख्तियारले छानबिन तीव्र बनाएको छ। सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री लेखकको सचिवालयसमेत मुछिएको छ। त्यसपछि रास्वपाले मन्त्री लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेको छ।

रास्वपाले संसद सुचारु गर्न पाँचबुँदे प्रस्तावसमेत अघि सारेको थियो, जसमा राजीनामा र संसदीय छानबिन समिति गठन मुख्य माग हुन्।

अब के हुन्छ?

शुक्रबार संसद् सुचारु गर्ने सत्तापक्षको प्रयासले के असर ल्याउँछ भन्ने हेर्न बाँकी छ। रास्वपाको अडान कायमै रहेमा संसद् अझै अनिश्चितताको छायाँमै रहने देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै