परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबाट नेपाल रिपब्लिक मिडियाकी निर्देशकलाई धम्की
काठमाडौं।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको खुलासा भएको छ। समाचार स्रोतअनुसार बिहीबारको नागरिक तथा रिपब्लिका दैनिकमा प्रकाशित पत्रकार दिलभूषण पाठकसम्बन्धी समाचारलाई लिएर मन्त्री राणाले निर्देशक ज्ञवालीलाई धम्क्याएकी हुन्।
प्राप्त विवरणअनुसार मन्त्री राणाले आफ्ना स्वकीय सचिव कमल रावलको ह्वाट्सएप नम्बरबाट दिउँसो १:५३ बजे ज्ञवालीलाई फोन गरी “नेपाल रिपब्लिक मिडिया र यसका सञ्चालकहरूलाई धराशायी गराइदिने” चेतावनी दिएकी थिइन्।
यस घटनाप्रति पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण जनाउँदै स्वतन्त्र पत्रकारिता माथिको हस्तक्षेप भन्दै विरोध जनाउन थालेका छन्।
यता, नेपाल रिपब्लिक मिडियाले भने घटनाको पुष्टि गर्दै प्रेस स्वतन्त्रतामाथिको यो खालको दबाब र धम्की अक्षम्य रहेको बताएको छ।
यसबारे मन्त्री राणाको तर्फबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।












