घुसको लागि सफ्टवेयर बनाउनेसम्म पुगे – यो संगठित अपराध हैन भने के हो?”: सांसद सुमना श्रेष्ठ
काठमाडौं, असार ३०–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले भिजिट भिसाका नाममा नेपालीहरूको भइरहेको शोषण, घुसखोरी र सरकारी उदासीनताविरुद्ध कडा आवाज उठाएकी छिन्। उनले घुस लिने प्रणालीलाई व्यवस्थित बनाउन ‘सफ्टवेयर’ नै बनाइएको आरोप लगाउँदै यस्तो प्रवृत्तिलाई “संगठित अपराध”को संज्ञा दिएकी छन्।
“देशमा रोजगारी छैन, सिर्जना गर्न खोज्नेलाई हैरान पारिन्छ, विदेश गएरै भए पनि परिवार पाल्न चाहने नेपाली नागरिकहरूलाई घुस नबुझाई जान दिइँदैन,” श्रेष्ठले भनिन्, “घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् – यो संगठित अपराध हैन भने के हो?”
सांसद श्रेष्ठले विदेशी रोजगारमा जाने नेपालीहरूलाई भिजिट भिसामार्फत काम गर्न बाध्य बनाउने नियतसहितको व्यवस्था र त्यसमा देखिएको सरकारको मौनतालाई पनि गम्भीर प्रश्न उठाएकी छन्। “भिजिट भिसामा काममा जान्छन् नेपाली, हरेक किसिमको शोषणमा पर्छन्, कुनै कानुनी अधिकार हुँदैन – यो मानव तस्करी होइन भने के हो?” उनले प्रश्न गरिन्।
सत्तारुढ दलहरूले वर्षौँदेखि यस्तै प्रवृत्ति दोहोर्याउँदै आएको आरोप लगाउँदै श्रेष्ठले भनिन्, “सामान्य लाग्यो होला, तर जुन संस्कारबाट हामी आएका हौं, हामीलाई यो पाच्य छैन।”
सत्तामा टिक्नका लागि तर्साउने, लोभ्याउने, र गलाउने प्रयास भइरहे पनि रास्वपा अडिग रहेको स्पष्ट गर्दै उनले भनिन्, “हामी हाम्रो मागमा अडिग छौं – संसदीय छानबिन आयोग गठन र गृहमन्त्रीको राजीनामा अनिवार्य छ।”
उनले राजनीतिलाई सत्तामा पुग्ने, टिक्ने र दोहन गर्ने माध्यम मात्र ठान्ने पुरानै सोचविरुद्ध आफूहरू आएको बताउँदै भनिन्, “हाम्रो लागि राजनीति भनेको जनताको समस्या समाधान गर्ने र समाजलाई अघि बढाउने हो।”
सांसद श्रेष्ठले निष्कर्षमा भनिन्, “पाइला पाइलामा जनताको रगत-पसिना चुस्नेहरूले समाजलाई अघि बढ्न नदिएका हुन्, यसमा हामी पछि हट्ने छैनौं।”












