एयर इन्डिया विमान दुर्घटना: एकजनामात्र बाँच्न सफल, टाटा समूहले १ करोड सहयोग घोषणा
काठमाडौं।भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै दुर्घटनाग्रस्त भएको छ। एयर इन्डिया उडान १७१ मा सवार २४२ जनामध्ये २३० यात्रु र १२ चालक दलका सदस्य थिए। यस दर्दनाक दुर्घटनामा एकजनामात्र जीवित बच्न सफल भएका छन्।
दुर्घटनापछि सम्पूर्ण देश शोकमा डुबेको छ। विमानमा आगलागी भएपछि आकस्मिक अवतरणको प्रयास असफल भएको प्रारम्भिक रिपोर्टहरूमा उल्लेख छ। उद्धार कार्यमा संलग्न अधिकारीहरूले घटनास्थलमा शवको पहिचान तथा अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाएका छन्।
टाटा समूहको सहयोग घोषणा
एयर इन्डियाको मातृ कम्पनी टाटा समूहले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरेको छ। टाटा समूहका अध्यक्ष एन. चन्द्रशेखरनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेख्दै भने, “हामी अत्यन्तै स्तब्ध र दुःखी छौं। पीडित परिवारहरूप्रति हाम्रो गहिरो समवेदना छ।”
टाटाले प्रत्येक पीडित परिवारलाई १ करोड रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ। साथै, टाटा समूहले:
- सम्पूर्ण चिकित्सा खर्च व्यहोर्ने,
- पीडित परिवारको मानसिक र सामाजिक पुनर्स्थापनामा सहयोग गर्ने,
- मेडिकल होस्टल निर्माणमा लगानी गर्ने योजना पनि सार्वजनिक गरेको छ।
अहमदाबाद विमानस्थल बन्द, वैकल्पिक व्यवस्था
विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू हालका लागि स्थगित गरिएको छ। यात्रुहरूको सहजताका लागि पश्चिम रेलवेले अतिरिक्त विशेष रेलहरू सञ्चालन गर्ने घोषणा गरेको छ। उद्दार कार्यका लागि एनडीआरएफ र अन्य सुरक्षा निकायहरू खटिएका छन्।
यो भयावह दुर्घटनाले भारतसहित सम्पूर्ण क्षेत्रलाई स्तब्ध पारेको छ। जीवित बचेका एकमात्र यात्रुको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ। सरकारले घटनाको छानबिनका लागि विशेष समिति गठन गरेको छ।












