प्रेस स्वतन्त्रता कुण्ठित पार्ने प्रयासप्रति माओवादी केन्द्रको आपत्ति
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सञ्चारमाध्यममाथि भएको पछिल्लो हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाएको छ। समाचार हटाउन अदालतबाट जारी आदेश र पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी हुनु संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता विपरित भएको भन्दै माओवादी केन्द्रले कडा आलोचना गरेको हो।
बिहीबार पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पत्रकार दिलभूषण पाठकमाथि समाचार सम्प्रेषणको आधारमा पक्राउ पुर्जी जारी गरिएको घटना र नेपालखबर तथा बिजमाण्डूमा प्रकाशित समाचार हटाउन अदालतबाट दिइएको आदेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”
विज्ञप्तिमा भनिएको छ कि प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र अभिव्यक्ति स्वतन्त्रता संविधानको आत्मा हो र यस प्रकारको सरकारी हस्तक्षेप ती मुल्य मान्यताको गम्भीर उल्लंघन हो।
माओवादी केन्द्रले मिडियासम्बन्धी नियमन प्रेस काउन्सिलमार्फत् गरिनुपर्ने उल्लेख गर्दै अदालत र प्रहरी प्रशासनमार्फत पत्रकार तथा मिडिया दमन गर्ने कार्यलाई अस्वीकार्य बताएको छ।
“यदि समाचारमा त्रुटि वा पूर्वाग्रह देखिएको हो भने त्यसको समाधान प्रेस काउन्सिल लगायत नियामक निकायमार्फत् प्रतिवाद वा खण्डनको माध्यमबाट खोजिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “तर सरकारले दमनको नीति अख्तियार गर्दै प्रत्यक्ष पक्राउ प्रक्रिया अगाडि बढाउनु लोकतान्त्रिक अभ्यास विपरित छ।”
माओवादी केन्द्रले यस्ता गतिविधिहरूले लोकतान्त्रिक समाजको जग हल्लाउने खतरा रहेको र यसले स्वतन्त्र पत्रकारिता कमजोर बनाउने चेतावनी दिएको छ।












