चलचित्र ‘अञ्जिला’ सय दिनको यात्रातर्फ, दर्शकको साथमा सफलता पाउँदै
काठमाडौँ—नेपाली चलचित्र ‘अञ्जिला’ निरन्तर प्रदर्शनको एक सय दिन नजिक पुग्दै उच्च सफलताको यात्रामा अघि बढेको छ। गत फागुन २९ गते प्रदर्शनमा आएको यो चलचित्र अहिले ९१ औँ दिनसम्म काठमाडौँको क्युएफएक्स सिनेमा चेन अन्तर्गत सामाखुसीस्थित सिटी स्क्वायर मलमा लगातार देखाइँदै आएको छ। बिहीबारका लागि समेत सो हलमा तीनवटा शो तोकिएको छ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, सय दिन नजिकिँदै गर्दा दर्शकहरूबाट प्राप्त साथको कदर स्वरूप क्युएफएक्स सिनेमाजले देशभरका केही हलमा चलचित्रलाई रू. १०० मा देखाउने योजना बनाएको छ। श्रेष्ठले भने, “दर्शक स्वतःस्फूर्त रूपमा आइरहनु भएको छ, र यस्तो ऐतिहासिक अवसरमा अझ धेरै दर्शकले फिल्म हेर्न पाउन भनेर सहुलियतको व्यवस्था गरिएको हो।”
निर्देशक मिलन चाम्सद्वारा निर्देशित ‘अञ्जिला’ नेपाली चलचित्र उद्योगमा वर्ष २०८१ को सबैभन्दा धेरै व्यापार गर्ने शीर्ष पाँच चलचित्रमा परिसकेको छ। हालसम्म फिल्मले १२ करोडभन्दा बढीको व्यापार गरिसकेको निर्माण पक्षले जानकारी दिएको छ। चलचित्र राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिलाले आफैँ अभिनय गरेकी छिन्। साथै, दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ र प्रेमकुमार श्रेष्ठको समेत अभिनय रहेको छ।
प्रदर्शनको ९० औँ दिनमा पूर्व मन्त्री सुदन किराँतीले चलचित्र हेरेर भावुक प्रतिक्रिया दिएका छन्। उनले भने, “पूर्वी पहाडी भेगको किराँती समाजको यो कथा हेर्दा आफैँलाई देखिरहेजस्तो लाग्यो। आँखा बन्द गरें तर आँसु थामिएन।”
हाल निर्देशक मिलन चाम्स चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनको सिलसिलामा बेलायतमा रहेका छन्। उनले त्यहाँका विभिन्न शहरहरूमा ‘अञ्जिला’ को प्रदर्शन गरिरहेका छन्।












