पूर्वयुवराज्ञी हिमानी शाहको जुम्ला भ्रमण: सुन्दर प्रकृति तर चुनौतीपूर्ण जीवन
काठमाडौं–कर्णाली प्रदेशको जुम्ला जिल्ला भ्रमण सकेर राजधानी काठमाडौं फर्किएकी पूर्वयुवराज्ञी हिमानी शाहले नेपालको प्राकृतिक सौन्दर्यले आफू मोहित भए पनि स्थानीय जनजीवनको अवस्था देख्दा अझ धेरै काम गर्नुपर्ने महसुस भएको बताएकी छन्।
बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भनिन्, “हाम्रो देश प्राकृतिक रुपमा अत्यन्त रमणीय छ, हरियालीले भरिएको छ। मलाई पनि रमाइलो लाग्यो। तर, त्यहाँका नागरिकहरूसँग घुलमिल हुँदा उहाँहरूको दुःख देख्दा अझै धेरै गर्न बाँकी रहेछ भन्ने लाग्यो।”
हिमानी शाहले कर्णाली भ्रमणका क्रममा जनताबाट प्राप्त मायाप्रति आभार व्यक्त गरिन्। उनले विभिन्न गाउँ तथा क्षेत्रहरूमा भ्रमण गर्दा खानेपानीजस्ता आधारभूत सुविधाको समेत अभाव रहेको बताइन्। “ठाउँ–ठाउँमा पानीको आवश्यकता छ भन्ने महसुस भयो,” उनले थपिन्।
सामूहिक प्रयासको आवश्यकता
देश विकासको लागि सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले भनिन्, “हामी सबैले देशको लागि सक्दो प्रयास गर्नुपर्छ। देश बनाउन सबैको हात हुनु आवश्यक छ।”












