रास्वपाका मनीष झा भन्छन्: ‘हामी बढीमा दुई कार्यकालका लागि राजनीतिमा होमिएका हौँ’
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनीष झाले आफ्नो र पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको राजनीतिक यात्रा बढीमा दुई कार्यकालसम्म सीमित हुने स्पष्ट पारेका छन्।
बुधबार नागरिक फ्रन्टलाइन कार्यक्रमअन्तर्गत नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा झाले भने, “हामी बढीमा दुई कार्यकालका लागि आएका छौँ। स्वर्णिम दाइ र मैले त सार्वजनिक रूपमै भन्दै आएका छौँ – बढीमा दुई कार्यकाल है भनेर।”
उनले थपे, “हामी १०/१५ वर्षका लागि आएका हौँ। पुराना राजनीतिज्ञजस्तो पचासौं वर्ष राजनीतिमा टिकिरहने योजना छैन।”
पुराना दलका नेताहरू चुनावदेखि चुनावसम्म हतारिने प्रवृत्तिमा रहेको टिप्पणी गर्दै झाले भने, “स्वाभाविक रूपमा हामी हतारमा छौँ। तर ५० वर्षको यात्रा होइन यो।”
उनको यो अभिव्यक्तिले रास्वपाका नेताहरू दीर्घकालीन सत्ताकै लोभभन्दा पनि ठोस योगदानका लागि सीमित अवधिमा सक्रिय हुन चाहेको संकेत गर्छ।
रास्वपा हाल नेपाली राजनीति भित्र नयाँ शैली, पारदर्शिता र प्रतिबद्धताको उदाहरणका रूपमा अघि बढिरहेको छ। कार्यकालको स्पष्ट सीमा तय गर्ने यो अभिव्यक्ति नेपाली राजनीतिमा फरक धार निर्माण गर्ने संकेत पनि हुनसक्छ।












