काठमाडौं ढल निर्माण ठेक्कामा भ्रष्टाचार : पूर्व प्रशासकीय प्रमुखसहित ७ जनाविरुद्ध मुद्दा – Sagarmathapana:: Online News Portal

काठमाडौं ढल निर्माण ठेक्कामा भ्रष्टाचार : पूर्व प्रशासकीय प्रमुखसहित ७ जनाविरुद्ध मुद्दा

   २०८२ जेष्ठ २९ गते  

काठमाडौं—काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारले उनीहरूमाथि कारबाही अघि बढाएको हो। अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार परियारसँगै रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र सहायक निर्देशक उत्तम दाहालसमेत आरोपित छन्।

अख्तियारले उनीहरूमाथि बदनियतपूर्वक मूल्याङ्कन प्रतिवेदन तयार पारेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको, र अघिल्लो ठेक्का विवादलाई मनसायपूर्वक अपव्याख्या गरी निर्माण व्यवसायीलाई अयोग्य बनाएको आरोप लगाएको छ।

यस प्रकरणमा यसअघि पनि विवादित मानिएको निर्माण कम्पनी समानान्तर सेवा प्रा.लि को संलग्नता पनि देखिएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार मूल्याङ्कन प्रक्रिया, कानुनी व्यवस्था उल्लङ्घन र नियतमा खोटका कारण राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको उल्लेख गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै