भ्रष्टाचार मुद्दा लागेसँगै अध्यक्ष नेपालमाथि नैतिकताको प्रश्न खडा भएको झलनाथको टिप्पणी, पार्टी नेतृत्वबारे विचार गर्न सुझाव
काठमाडौं।नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालमाथि नैतिकताको प्रश्न खडा भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सम्मानित नेता खनालले माधव नेपालविरुद्ध पतञ्जली योगपीठको जग्गा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको विषयलाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । भ्रष्टाचार मुद्दा दायर भएसँग माधव नेपालको सांसद पद निलम्बनमा परेको छ । पार्टी नेतृत्वबाट पनि उनी बाहिर बस्ने कि नबस्ने भन्ने नैतिकताको प्र्रश्नसमेत खडा भएको सम्मानित नेता खनालले बताए ।
‘त्यो उहाँ आफैंले गर्ने निर्णय हो । पार्टीभित्र हामी बसेर छलफल गर्छौं । त्यसमा केही समस्या हुँदैन । यो परिस्थितिले जे आवश्यकता सिर्जना गर्छ, त्यो आवश्यकता बमोजिम निर्णय गरेर पार्टी अगाडि बढ्छ ।’ उनले भने, ‘यो नैतिकताको प्रश्न हो भन्ने मलाई लाग्छ । नैतिकताको प्र्र्रश्नको जवाफ सम्बन्धित व्यक्तिबाटै आउनुपर्छ । पार्टीले भन्ने बेग्लै कुरा हो ।’
नेता खनालले नेपाली कम्युनिष्ट आन्दोलनभित्र प्रतिशोधपूर्ण युद्ध चलिरहेको बताए । पार्टी अध्यक्ष्न नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मद्दाकम्युनिष्ट आन्दोलनभित्र प्रतिशोधपूर्ण युद्धको परिणाम हुनसक्ने उनको शंका पनि छ ।
नेता खनालले पार्टी अध्यक्ष नेपाल पतञ्जली जग्गा प्रकरणमा निर्दोष रहेको र यस विषयमा उनलाई अदालतले न्याय दिन्छ भन्नेमा आफूहरुलाई विश्वास रहेको बताए । उनले आफूहरुले यस विषयमा अलि संयमताको साथ हेर्ने बताए । उनले अदालतले माधव नेपाललाई सो मुद्दामा सफाइ दिनुपर्ने बताए ।
‘यसमा हामीले अलिकति संयम र धैर्यताको साथ हेर्नुपर्ने भएको छ । भुलचुक केही भएका रहेछन् भने पनि त्या अदालतले प्रमाणित गर्ला नै । मेरोचाहिँ के विश्वास छ भन्नुहुन्छ भने अदालतले यी सबै कुराहरुको अध्ययन गर्ने विश्लेषण गर्ने उहाँलाई सफाइ दिनुपर्छ होला भन्ने नै मैले सोचिरहेको छु,’– उनले भने ।
यस विषयमा न्यायलयको निर्णयको प्रतिक्षामा बस्नुको विकल्प नरहेको उनले बताए । सम्मानित नेता खनालले माधव नेपालबाट त्यो प्रकारको त्रुटी भयो होला भनेर अहिले आफूहरुले कल्पना पनि गर्न सक्ने अवस्था नरहेको बताए । नेता खनालले पार्टी अध्यक्ष नेपालमाथि लागेको मुद्दाको एकजुट भएर सामना गर्ने र ‘तथ्यहरुको आधारमा सत्य पत्ता लागोस्’ भन्ने पक्षमा रहेको बताए । आग्रह, पूर्वाग्रह र प्रतिशोधको आधारमा कुनै पनि कारबाही नहोस् भन्ने एकीकृत समाजवादीको चाहना रहेको उनले बताए ।












