दयाहाङ र प्रकाश सपुत पहिलो पटक एउटै पर्दामा,‘मिरमिरे’ मार्फत सहकार्य – Sagarmathapana:: Online News Portal

दयाहाङ र प्रकाश सपुत पहिलो पटक एउटै पर्दामा,‘मिरमिरे’ मार्फत सहकार्य

   २०८२ जेष्ठ २८ गते  

काठमाडौं–नेपाली फिल्म क्षेत्रका दुई चर्चित अनुहार, अभिनेता दयाहाङ राई र प्रकाश सपुत पहिलोपटक एउटै पर्दामा देखिने भएका छन्। यार्सा फिल्म्सको प्रस्तुति रहने तयारी अवस्थामा रहेको नयाँ फिल्म ‘मिरमिरे’ मा यी दुई लोकप्रिय कलाकारको सहकार्य हुने पक्का भएको छ।

निर्देशक यम शेर्पा को दोस्रो निर्देशनमा बन्न लागेको फिल्म ‘मिरमिरे’ को कलाकार चयनको काम भइरहेको छ। उनले भने, “हामी अहिले कलाकारसँग सम्झौताकै क्रममा छौं। बजारले रुचाएका र अभिनयमा अब्बल कलाकारहरूलाई नै ल्याउने तयारी छ।”

दयाहाङ र प्रकाश दुबै कलाकारलाई फिल्ममा अनुबन्ध गरेसँगै फिल्मको स्तर उच्च हुने अपेक्षा गरिएको छ। प्रकाश गायकका रूपमा परिचित भए पनि यो फिल्ममा उनी अभिनयमै केन्द्रित हुने वा संगीतमा पनि योगदान दिने भन्ने विषय खुलाइएको छैन।

फिल्मले ग्रामीण जीवनशैलीमा आधारित सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक शेर्पाले जानकारी दिएका छन्। फिल्मको कथा र निर्देशन उनी स्वयंले सम्हाल्नेछन्।

अभिनेता प्रकाश सपुतले ‘मिरमिरे’ मा काम गर्न पाउँदा खुशी व्यक्त गर्दै भनेका छन्, “मेरो भूमिका विशेष र चुनौतीपूर्ण छ। यो फिल्मबाट म कलाकारको रूपमा नयाँ उचाइमा पुग्ने विश्वास लिएको छु।”

फिल्मको प्राविधिक पक्ष बलियो हुने दाबी गरिएको छ। ‘कार्साङ’ जस्तो सफल फिल्म निर्देशन गरिसकेका यम शेर्पाको यो दोस्रो निर्देशन हो।

‘मिरमिरे’ का निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ रहेका छन्। कार्यकारी निर्माता रोहित कट्टेल (आरआर फिल्म्स) छन्।

फिल्म वि.सं. २०८२ मा प्रदर्शन गर्ने तयारी गरिएको छ, यद्यपि प्रदर्शन मिति भने तय गरिएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै