सरकारद्वारा गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने तयारी
काठमाडौं–सरकारले गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको व्यवस्था गर्न छुट्टै विधेयक ल्याउने तयारी गरेको छ। मंगलबार सिंहदरबारमा बसेको संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले सो जानकारी दिएका हुन्।
उनका अनुसार गैरआवासीय नेपाली नागरिकताका लागि संविधानको भावना अनुसार छुट्टै ऐन निर्माण गर्न लागिएको हो, जसबाट नागरिकता प्राप्त गर्ने व्यक्तिहरूले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेछन्। परराष्ट्र मन्त्रालयको नेतृत्वमा सो विधेयकको मस्यौदा निर्माण भइरहेको छ भने हाल गृह मन्त्रालयमा पनि प्रस्ताव पुगेको गृहमन्त्रीले बताए।
‘छिट्टै संसदमा विधेयक प्रस्तुत हुनेछ’
गृहमन्त्री लेखकले भने, “गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा सरकारले बेग्लै विधेयक तयार गर्दैछ। त्यसले संविधानको मर्मअनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्नेछ। अहिले परराष्ट्र मन्त्रालयको नेतृत्वमा मस्यौदा बनेको छ र गृह मन्त्रालयमा समेत आएको छ। त्यसकारण यो विषय अन्य विधेयकमा नराखौँ।”
गोर्खा सैनिकका समस्या समाधानतर्फ सरकार गम्भीर
बैठकमा गृहमन्त्री लेखकले गोर्खा सैनिकहरूको मागबारे पनि सरकार गम्भीर रहेको बताए। उनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गरेर समस्याको समाधान खोज्ने तयारी भइरहेको जानकारी दिए।
उनले भने, “गोर्खा सैनिकका मागहरू संविधानसँग सम्बन्धित छन्। ऐन संशोधनले मात्रै समाधान सम्भव छैन भन्ने विषयमा सांसदहरूबीच एकमत छैन, त्यसैले संविधानको अध्ययन आवश्यक छ।”
बेलायतको नागरिकता लिएका गोर्खा सैनिकहरू नेपालमा वंशजको नागरिकता पाउने हक कायम गर्नुपर्ने माग गर्दै आएका छन्।












