फिल्म ‘जहाजैमा’को नाम सार्वजनिक, जापान जान चाहने युवाको कथा
काठमाडौं–निर्देशक कृषा चौलागाईंले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘जहाजैमा’ को नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छ। केही दिनअघि जापान पुगेर यूएनए प्रोडक्सनको ब्यानरमा फिल्म साइन गरेकी चौलागाईंले अब फिल्मको तयारीलाई तीव्र बनाएकी छन्।
फिल्मको थीम पोष्टर सार्वजनिक गरिएको छ जसमा एक पुरुषले विमानस्थलमा लगेज बोकेर जहाज चढ्न गइरहेको दृश्य देखाइएको छ। फिल्मले विशेष गरी जापान जाने सपना बोकेका नेपाली युवाहरुको कथा भन्नेछ।
फिल्मका निर्माता उज्ज्वल गुरागाईं हुन् भने छायांकनको जिम्मेवारी पुरुषोत्तम प्रधानले लिने निश्चित भइसकेको छ। हाल फिल्मको कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन।
सन् २०२६ मा रिलिज गर्ने लक्ष्य राखिएको यो फिल्मको छायांकन भदौ महिनादेखि सुरु हुने बताइएको छ। छायांकन नेपाल, जापान र फिलिपिन्समा हुनेछ। फिल्मको छायांकनमध्य एक महिनासम्म जापानमै हुने पक्का भइसकेको छ।
कृषा चौलागाईंले यसअघि निर्देशित फिल्म ‘पिताम्बर’ मार्फत चर्चा कमाएकी थिइन्। उनले ‘जहाजैमा’पछि ‘पिताम्बर २’ बनाउने घोषणा पनि गरिसकेकी छिन्।
जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब आफ्नै ब्यानर यूएनए प्रोडक्सनमार्फत फिल्म निर्माणमा हात हालेको हो। यस फिल्ममा नेपाल र जापानका कलाकारहरूले अभिनय गर्नेछन्।
हाल कृषा फिल्मको प्री–प्रोडक्सन कार्यमा व्यस्त छिन् र चाँडै कलाकार टिम तथा अन्य प्राविधिक विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।












