अनेरास्ववियु महाधिवेशनमा सहमति विहीनता : निर्वाचनतर्फ मोडियो नेतृत्व चयन
काठमाडौं–नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं महाधिवेशन सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियातर्फ अघि बढिएको छ। कीर्तिपुरमा जारी महाधिवेशनको मञ्चमै अध्यक्ष पदमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि तीव्र विरोध र नाराबाजी भएको छ। त्यसपछि निर्वाचन समितिले औपचारिक रुपमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन कडरियातर्फ देखिएपछि नेतृत्व प्रस्ताव विवादास्पद बनेको हो। अध्यक्ष पदका लागि दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले प्रतिस्पर्धाको दाबी गरेका छन्।
निर्वाचन समितिका अनुसार, आज अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारी फारम वितरण गरिनेछ भने ४ देखि ६ बजेसम्म दर्ता प्रक्रिया हुनेछ। प्रारम्भिक उम्मेदवार नामावली आजै राति ८ बजेसम्म प्रकाशित गरिनेछ।
निर्वाचन प्रक्रिया अनुसार मतदान भोलि बिहान १० बजेबाट सुरु भई साँझ ५ बजेसम्म चल्नेछ। संगठनभित्रको यो प्रतिस्पर्धाले अनेरास्ववियुको भावी दिशा तय गर्ने विश्लेषण गरिँदैछ।












