नेपाल डिजिटल रूपान्तरणको दिशामा: मन्त्री गुरुङले टोकियोमा डिएनएफको प्राथमिकता दोहो¥याए
टोकियो–नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई सरकारको रणनीतिक प्राथमिकता भएको स्पष्ट पार्दै, डिजिटल अर्थतन्त्र निर्माणमा नेपालले ठोस कदम चालेको बताएका छन्।
शुक्रबार जापानको राजधानी टोकियोमा आयोजित एसिया–प्रशान्त दूरसञ्चार (एपिटी) २०२५ मन्त्रिस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सूचना प्रविधिको समृद्ध पारिस्थितिकी प्रणाली र अनुकूल वातावरण तयार नगरी डिएनएफको प्रभावकारी कार्यान्वयन सम्भव नहुने बताए।
उनका अनुसार नेपालले सुरक्षित, समावेशी र नवप्रवर्तनमैत्री डिजिटल युगतर्फ अघि बढ्ने दृढता लिएको छ। “साइबर सुरक्षालाई मजबुत बनाउँदै, डिजिटल पूर्वाधारमा लगानी बढाउने र नागरिकलाई डिजिटल सशक्तीकरणतर्फ लैजाने हाम्रो प्रमुख लक्ष्य हो,” मन्त्री गुरुङले भने।
मन्त्री गुरुङका अनुसार डिएनएफले डिजिटल रूपान्तरणको मूल आधारका रूपमा सुरक्षा र विश्वासलाई केन्द्रमा राखेको छ। साथै, नेपालले एपिटीसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै ज्ञान आदानप्रदान र प्रविधि हस्तान्तरणमा सहकार्य गहिरो बनाउने प्रतिबद्धता जनाइएको छ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा नेपालले डिजिटल छलाङतर्फ अघि बढ्दै, उद्योग स्थापना, रोजगारी सिर्जना र समावेशी अर्थतन्त्र निर्माणमा केन्द्रित प्रयास गरिरहेको जानकारी पनि दिए।
डाटा सुरक्षादेखि नवप्रवर्तन प्रवर्द्धनसम्म, डिजिटल नेपालको यात्रामा सरकार सबै पक्षसँग सहकार्य गर्न तत्पर रहेको मन्त्री गुरुङको भनाइ थियो।












