वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहका ३ सदस्य पक्राउ
काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न मुलुकमा रोजगारका लागि पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रौतहट परोहा नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–२२ बस्ने ३५ वर्षीय हरिकृष्ण ठाकुर, नवलपरासी पूर्व कावासोती नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–५ बस्ने ४१ वर्षीया रिना गुरौ, र काभ्रे पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–१५ बस्ने ५५ वर्षीय कविराज सिपखान रहेका छन्।
प्रहरीका अनुसार, हरिकृष्णले कतार पठाइदिने भन्दै एक पीडितबाट १ लाख रुपैयाँ, रिनाले पोर्चुगल र कुवेत पठाइदिने भन्दै ३ जनाबाट १८ लाख ५५ हजार रुपैयाँ, र कविराजले युके पठाइदिने भन्दै एक जनाबाट ४१ लाख १४ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले हरिलाई काठमाडौं महानगरपालिका–२२, रिनालाई ललितपुर महानगरपालिका–५ र कविराजलाई काठमाडौं महानगरपालिका–२८ बाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाएको जनाएको छ।












