महाभोज’ पोखरामा भव्य प्रिमियर सम्पन्न, दर्शकको प्रशंसा र आक्रोश दुबै देखियो
पोखरा–निर्देशक दिनेश राउतको बहुप्रतिक्षित सिनेमा ‘महाभोज’ को प्रिमियर शो सोमबार पोखरामा भव्य रूपमा सम्पन्न भयो। प्रिमियर कार्यक्रममा अभिनेता आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्माता हिमाल कडरिया र निर्देशक राउत स्वयंको उपस्थिति थियो।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, सहकारी पीडितहरू, विभिन्न पेशागत क्षेत्रका विशिष्ट व्यक्तिहरू र पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
दर्शकहरूले सिनेमा हेरेपछि कथावस्तु, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरे। तर प्रशंसासँगै उनीहरूमा आक्रोश पनि देखिएको छ। सिनेमाले उठाएको विषयवस्तुले दर्शकहरूलाई गहिरो रूपमा छोएको बताइएको छ।

सिनेमा हेरेका केही दर्शकहरूले ‘महाभोज’ ले ‘आगो’ सिनेमा जस्तै विद्रोही चेतनालाई पुनः जगाउन सक्ने क्षमता राखेको बताएका छन्। उनीहरूको भनाइमा, सत्तासीन शक्तिलाई चुनौती दिने र पीडित आवाजलाई बलियो बनाउने प्रयास यस सिनेमाले गरेको छ। साथै, सिनेमाबाट कुनै दृश्य काट्ने प्रयास भएमा त्यसको विरोधमा उभिने चेतावनीसमेत उनीहरूले दिएका छन्।
यसअघि काठमाडौंमा सम्पन्न प्रिभ्यु शोमा पनि दर्शकहरूले सिनेमालाई प्रशंसा गर्दै सामाजिक यथार्थ प्रस्तुत गर्न सफल भएको बताएका थिए।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेम को संयुक्त प्रस्तुतीमा बनेको ‘महाभोज’ आगामी शुक्रवार, जेठ ३० गते बाट देशभर प्रदर्शनमा आउने तयारीमा छ। निर्माता हिमाल कडरियाको निर्माणमा बनेको यस सिनेमामा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, वसुन्धरा भुसाल, मोहन निरौला, गौमाया गुरुङलगायतको अभिनय रहेको छ।
पोखराको सफल प्रिमियरपछि बुटवल, विराटनगर र धरान मा पनि क्रमशः प्रिमियर आयोजना गरिने जनाइएको छ।












