संविधान दिवसमा प्रदर्शन हुने ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक
काठमाडौं- आउँदो असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ। पूर्वी नेपाली मौलिक लोकभाका ‘मारुनी’ शैलीमा आधारित यस गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। गायिका अस्मिता अधिकारीको यो पहिलो मारुनी शैलीको गीत हो।
गीतका शब्द र संगीत प्रशान्त सिवाकोटीले तयार पारेका हुन् भने गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। भोजपुरमा छायाङ्कन गरिएको भिडियोलाई झनै आकर्षक बनाउन अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङको नृत्य देख्न सकिन्छ।
निर्देशक अर्जुन सुवेदीका अनुसार, करिब ७–८ वर्षपछि नेपाली चलचित्रमा मारुनी गीत समावेश गरिएको हो, जसले नेपाली संस्कृति र परम्पराको पुनर्जागरणमा सघाउने विश्वास गरिएको छ। ‘सोल्टिनी’ चलचित्रले सामाजिक विकृति, अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउनुका साथै प्रेम कथालाई मूल विषयवस्तु बनाएको छ।
चलचित्रमा पहिलो पटक प्रकाश सपुत र परीक्षा लिम्बुको जोडीलाई पर्दामा देख्न पाइनेछ। साथै, चलचित्रमा चर्चित कलाकारहरू विल्सन विक्रम राई, रवीन्द्र झा, सब्बु गुरुङ, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतको अभिनय रहनेछ।
‘सोल्टिनी’ का गीतहरूमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले संगीत दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका छन्। चलचित्रको कथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्।
प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईं हुन्। चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन् भने आरआर फिल्मस् प्रा.लि.ले नेपालमा वितरण गर्नेछ। डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ।
‘सोल्टिनी’ चलचित्रले नेपाली संस्कृति, प्रेम र सामाजिक यथार्थलाई समेट्दै दर्शकलाई नयाँ स्वाद दिन खोजेको छ।












