स्थानीय तहको संख्या ५ सय बनाउन छलफल शुरु भएको छः सचिव भट्टराई
काठमाडौं :सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
आज राजधानीमा आयोजित संघीयतामा बजेट सम्बन्धी कार्यक्रममा उनले अहिले पनि केन्द्रीकृत मानसिकता हावी भइरहेको र त्यसलाई संघीयता प्रभावकारी रुपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताएका हुन्।
सचिव भट्टराईका अनुसार स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्छ। स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै संघीयतालाई प्रभावकारी बनाइँदै लगिने बताए। उनले अनौपचारिक हिसावले ५ सय स्थानीय तहको संख्या बनाउनेबारे छलफल चलिरहेको बताए। उनले यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताए।
उनले मुलुकमा विकासको विस्तार भएको बताउँदै गुणस्तर र प्रतिफलमुखी बनाउनसके मुलुकको अर्थतन्त्र बलियो हुने बताए।
आर्थिक, प्रशासनिक, राजनीति रुपमा संघीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीति रुपमा संघीयता कार्यान्वयनमा गएको भए पनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको बताए।
पूर्वमन्त्री समेत रहेका भट्टराईले निजामती ऐन, प्रहरी, शिक्षा ऐन बनाएर प्रशासनिक संघीयतालाई कार्यान्वयनमा लगिने बताए। आगामी बजेटबारे उनले यसपटकको बजेटले योजनाहरूलाई प्रतिफलमुखी बनाउन खोजेको बताए।
उनकाअनुसार संघीयतामा स्थानीय तह र प्रदेशले आफ्नो स्रोत सदुपयोग गर्नुपर्छ। केही अप्ठ्यारा छन् भने हटाइदिनुपर्छ। स्रोत सदुपयोग बढाउन जरुरी छ। तहगत सरकारले प्रशांसायोग्य काम गरेका छन्। जाजरकोट, रुकुमको भूकम्पमा स्थानीय तहको भुमिका महत्वपूर्ण छ।












