इजरेलमा हमासको आक्रमणमा परेर नेपालीहरू पनि घाइते
एजेन्सी। प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ।
शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।
त्यस क्रममा हालसम्म ४० जना इजरेली र १९८ जना प्यालेस्टिनीहरू मारिएको खबर आएको छ। त्यस्तै ७०० भन्दा बढी इजरेलीहरू घाइते भएको विवरण छ।
इजरेलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बताएको छ।
इजरेलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले “नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको” भन्ने विवरण आएको तर त्यसलाई दूतावासले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताए।












