अनमोल केसी ‘बाटुलो जून’ मार्फत फर्किदै, नेपाली सिनेमा प्रेमीहरूमा उत्साह – Sagarmathapana:: Online News Portal

अनमोल केसी ‘बाटुलो जून’ मार्फत फर्किदै, नेपाली सिनेमा प्रेमीहरूमा उत्साह

   २०८२ असार १९ गते  

काठमाडौं — नेपाली सिने क्षेत्रका चर्चित अभिनेता अनमोल केसीले लामो समयको विश्रामपछि नयाँ जोश र उमङ्गका साथ आफ्नो नयाँ चलचित्र यात्रा सुरु गरेका छन्। दर्शकको मायाले सुपरहिट बनेका ‘सपना’, ‘करोडपति’, ‘नेपाली बाबु’, ‘म तिमी बिना मरिहाल्छु’ र ‘ड्रिम्स’ जस्ता फिल्महरूको सफलतापछि अब उनी ‘बाटुलो जून’ मार्फत पुनः नेपाली सिने उद्योगमा चम्किन लागेका हुन्।

अभिनेता तथा निर्देशक भुवन केसीको निर्देशनमा बन्न लागेको चलचित्र ‘बाटुलो जून’ को छायांकन औपचारिक रूपमा चित्लाङबाट सुरु भएको निर्माण युनिटले जनाएको छ। फिल्ममा अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा प्रस्तुत हुँदैछन्। शनिबार सार्वजनिक गरिएको लुक्समा दुवै कलाकारलाई नयाँ गेटअप र फरक शैलीमा प्रस्तुत गरिएको छ, जसले दर्शकहरूको प्रतिक्षा झनै बढाएको छ।

छायांकन विभिन्न रमणीय स्थलहरूमा गरिने र चलचित्रलाई उत्कृष्ट बनाउन सम्पूर्ण टिमले उच्च मेहनत गर्ने निर्माण पक्षको भनाइ छ।

यस अवसरमा अनमोल केसीले सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गर्दै लेखेका छन्:

“जेरी अन टप”, “बाटुलो जून” र “ए मेरो हजुर – ५” मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ हजुरहरू माझ उपस्थित हुन लागेको यो खुशीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र हर्षित छु। आजसम्म मेरो यस यात्रा सफल बनाउन साथ, सहयोग, शुभेच्छा, माया, हौसला र प्रेरणा प्रदान गर्नुहुने मेरा निर्माता, निर्देशक, सहकर्मी मित्रहरू, टेक्निसियन, मिडिया र भगवानरुपी दर्शकहरूप्रति म हार्दिक कृतज्ञ छु।

नेपाली सिने प्रेमीहरूका लागि यो नयाँ परियोजना उत्सुकताको विषय बनेको छ, र ‘बाटुलो जून’ ले नयाँ रेकर्ड राख्ने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै